Saturday, July 30, 2011

माओवादीका थप मन्त्रीले पनि राजीनामा दिए

कान्तिपुर
काठमाडौं, श्रावण १४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी निर्णयअनुसार आफ्ना मन्त्रीहरुको राजीनामा प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएका छन् ।
प्रधानमन्त्री खनाललाई शनिबार साँझ बालुवाटारमा भेटेर दाहालले आफ्ना चार मन्त्री र चार राज्यमन्त्रीको राजीनामा बुझाएका हुन् । माओवादीले यसअघि नै सात मन्त्रीको राजीनामा बुझाइसकेको छ । तर उनीहरुको पनि राजीनामा स्वीकृत भएको छैन ।

एकोहोरो धुनको त्याग

अनु. रामविक्रम सिजापति
चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।
चुङ्गको कथा सुनेर निओविरक्त हुने गर्दथ्यो । कहिलेकाहीं चुङ्गनिओलाई जबरजस्ती कथा सुनाउन बसाल्थे । उनी कथा सुनाउनमा यति लिन हुन्थे कि निओ बसेको ठाउँबाट कुलेलाम ठोक्दा पनि चाल पाउँदैनथे ।
'अरू बच्चाहरू कथा सुन्न कति लालायित हुन्छन्, तर निओ किन टाढा-टाढा भाग्छ ? केमेरो कथाले विरक्तत्याउँछ ?' चुङ्गले घरका सदस्यहरूसँग सोधे ।
"बिल्कुल होइन बाजे" निओको बजै, बाबु, आमा र दिदी सधैं यही जवाफ दिन्थे र चुङ्गको मन राख्दथे ।
यो जवाफ सुनेर चुङ्ग उनीहरूलाई पनि कथा सुनाउन सुरू गर्थे । यसरी हरेकले आफ्नो काम गर्दागर्दै पनि कथा सुन्दथे र नमज्जा मान्थे । घरका अरूहरूको टाउको दुखाइ भएमा निओलाई समातेर उनको अगाडि राखिदिन्थे । चुङ्गलाई त के थियो र कथा भनिरहन्थे, जो कोही बसेको भए पनि फरक पर्दैनथ्यो ।
एकदिन दिक्क भएर निओले आफ्नो बाजेसँग सम्झौता गर्‍यो, "हजुर बुबा म दिनहुँ तपाईंसँग एउटा कथा सुन्न आउँछु त्यसको साटो तपाईं मलाई खेल्न जान दिनुस् ।"
चुङ्गले शर्त माने । अब झन् निओ नराम्रो गरी फस्यो । चुङ्ग दुई तीन वटा कथालाई जोडजाड गरेर यस्तो परिस्थिति बनाइदिन्थे जसले गर्दा अँध्यारो हुन्जेलसम्म पनि कथा सिद्धिदैनथ्यो । निओको खेल्ने समय नै रहँदैनथ्यो ।
त्यो दिन पनि निओ चुङ्गलाई छकाएर बगैँचामा खेल्न आयो । त्यही बेला बू्रस नाम गरेको नयाँ केटासँग उसको भेट भयो । दुवैमा राम्रो सख्य भाव भयो । अब बू्रस पनि दिनहुँ खेल्न आउन लाग्यो । एकदिन बू्रसले निओसँग भन्यो, "तिमी अलि चाँडो खेल्न किन आउँदैनौ ? जहिले पनि अबेला आउँछौं ।"
"म चाँडै आउन चाहन्छु तर के गरूँ । हजुर बुबाले आफ्नो कथा नसुनाइकन आउनै दिनुहुन्न," निओले भन्यो ।
"के साँच्चै । तिम्रो हजुरबुबा कथा भन्नुहुन्छ ? मेरो घरमा त कसैले पनि कथा भन्दैनन् । म कथा सुन्न बेचैन हुन्छु । त कसैलाई पनि समय नै हुँदैन ।" "अरे ! त्यसो भए तिमी मेरो हजुरबुबासँग कथा सुन्ने गर ।" "वाह ! मित्र ! तिमीले त मेरो मनको कुरा नै भन्यौ"
भोलिपल्टै निओले बू्रसलाई हजुरबुबासँग भेटायो -"हजुर बुबा ! यो मेरो नयाँ साथी बू्रसा यसलाई कथा सुन्ने शोख छ । अब दिनहुँ तपाईंसँग कथा सुन्न आउँछ । अब म खेल्न जाउँ ?" चुङ्गले निओलाई खेल्न जान दिए । बू्रसलाई बसाएर कथा सुनाउन थाले । "एउटा राजा थिए .... उनको एउटी राम्री राजकुमारी थिइन् ... फेरि उनलाई दुष्ट जादूगरले लग्यो ... राजकुमारले लामो यात्रा गरे ... अनेक मुस्किल भयो ... अनेक लडाइँ ... आखिर जादूगरको किल्ला फेला पारे ... लडाइँ भयो ... सुगामा उसको प्राण ... जादूगरको मृत्यु ... राजकुमार र राजकुमारीको विवाह भयो, फेरि उनीहरू सुखपूर्वक रहन लागे ।"
चुङ्गले एउटा लामो कथा सिध्याए । उनको अनुहारमा सन्तुष्टि थियो । कथा सुनेर बू्रसले भन्यो -"के यसपछि फेरि कुनै दुष्ट जादूगरले राजकुमारीलाई भगाउने कोशिश गरेनन् ? या फेरि उनी राम्री रहिनन्, पैले जस्तै ?"
'अरे, कसैले यस्तो गरे पनि हामीलाई लिन नदिनु ? यदि यस्तो भएपनि राजकुमार र बहादुर छँदै नि ! अब त उनले राजकुमारीलाई बिहे पनि गरिसके । उनको रक्षा गर्नु राजकुमारको कर्तव्य हो । फेरि पनि तिमीले राम्रो प्रश्न गर्‍यौ । थाहा छ, तिनै दिनमा यो इलाकामा एउटा दुष्ट तान्त्रिकको उन्नतिको दिनथियो ।"
"बढियाँ ...!"
"हो ! सबै उसँग डराउँथे .. उसले निश्चय गर्‍यो कि सय राजकुमारीहरूलाई समात्ने .. फेरि पूजा गर्ने .. उसले राजकुमारीलाई पनि अपहरण गर्‍यो .. राजकुमारले वर्षौसम्म खोजी रहे ... फेरि लामो लडाइँ ... आखिर तान्त्रिकको मृत्यु.....दुवै सकुशल आफ्नो राज्यमा फर्के सुखपूर्वक रहन लागे ।"चुङ्गले एउटा फेरि लामो कथा जोडेर त्यही कथामा जोडेर सुनाए । उनी मनमनै केटालाई फसाएँ भनेर खुशी थिए ।
तर बू्रस त नयाँ नयाँ शङ्का खडा गर्नको लागि बिल्कुल तयार भएर बसेको थियो । तर राजकुमार आफ्नो राज्यबाट यतिका वर्ष टाढा भए । उनको मन्त्री आदि राज्य चलाउँथे । के तिनीहरू उपर कुनै दुःख कष्ट आएन ?" बू्रसले प्रश्न तेर्सायो ।
"अँ....हो....हो... किन आएन र त्यो यस्तो भयो कि ... चुङ्गले लामो सास फेरेर लामो कथा जोडेर सुनाए । तर बू्रस भने हरेक कथा सकिएपछि नयाँ प्रश्न खडा गरेर उनलाई चुनौति दिन्थ्यो । आखिर चुङ्ग उसलाई कथा सुनाउँदा सुनाउँदा दिक्क भएर सास गति तीव्र हुन लाग्यो अनि भने "अब यसपछिको कथा म भोलि सुनाउँछु ।"
"होइन ! म भोलिसम्म कुर्न सक्तिन । तपाईं मलाई अहिले नै सुनाउनु सा" वर्षौको प्यासा ब्रुसले जिद्दी गर्‍यो ।
"लौ, लौ सुनाउँछु । मेरो घाँटी सुक्यो । भित्र गएर तीन/चार ग्लास पानी ल्याउ" चुङ्गले स्याँ स्याँ गर्दै भने ।
ब्रूसभित्र जानासाथ चुङ्गले ठाडो पुच्छर लगाए । बाटोमा भेट हुने हरेकलाई "निओलाई खोज्न जान लागेको" भन्दै आखिर त्यही बगैंचामा पुगे, जहाँ निओ खेलिरहेको थियो । चुङ्गलाई टाढैबाट आएको देखेर निओ एक ठाउँमा लुक्यो । सधैँको जस्तो कसैले उसको कान समातेर चुङ्गको जिम्मा लगाई दियो । नाति निओ नडराउ । म कथा सुनाउन आएको हैन । म तिमीलाई त के अब जिन्दगीमा कसैलाई पनि कथा सुनाउन्न । हेर ! बरू तिम्रो नयाँ मित्रबाट मलाई छुटकारा दिलाउ" चुङ्गले भने ।
चुङ्गको घाँटी सुकिसकेको थियो । उनी स्याँ स्याँ गरिरहेथे । निओले चुङ्गको शर्त मान्यो । फेरि कहिल्यै बू्रसको मुख चुङ्गलाई देखाएन । चुङ्गले पनि आफ्नो कथा सुनाउने एकोहोरो धुन हमेसाको लागि त्यागी दिए । अब निओले मात्र हैन उसको घरका सबैले पनि सुखको सास फेर्न पाए ।

बिहा(विश्वेश्वरप्रसाद कोइराला)

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।
मैले एउटा बिहा देखेको छु, म जन्तीपट्टि थिएँ । हामीहरूलाई ४ बजेको निम्तो थियो, तर जन्ती ८ बजे भन्दा पहिले निस्केनन् । हामीहरू बाहिर बसी-बसी जन्ती निकाल्ने उद्योगमा थियौं तर दुलहाले नै अबेर लगाए । उनी सिँगार पारिरहेका छन् रे । विवाहको अवसरमा एक चोटि सिँगारिने मौका पाइन्छ भनी हामीहरू चुप्प लागी उनको प्रतीक्षा गरिरहेका थियौं । मैले दुलहालाई देखेको थिइनँ, कस्ता होलान् । गाउँका स्वास्नीमानिसहरू पनि आएर उभिरहेका थिए; तिनीहरू पनि दुलहालाई हेर्छन् रे । कस्ता होलान् ? दुलहा भन्नासाथ २०/२२ वर्षको युवकको कल्पना हुन थाल्दछ र ती ग्रामीण रमणीहरू पनि यस्तै दुलहाको कल्पना गरी हेर्न उभिरहेका होलान् । धेरै बेरपछि ढोकातिर खलबली भयो । “दुलहा आए दुलहा आए” भनेर सब उतातिर ओइरिन लागे, तर मैले चिन्न सकिनँ कुन चाहिने दुलहा हुन् । सब छिपिएका उमेरका मानिसहरू ढोकाबाट बाहिर निस्के । यसो ठम्याउन नसके पनि पहिरनले ती कालो कोट लाउने नै दुलहा हुन् भनिठानेँ । नभन्दै तिनी रहेछन् । आफ्नो खुशी र सुखलाई नदेखाऊँ भन्दाभन्दै पनि उनको आकृति चलाइ र बोलाइले नै तिनी दुनियाँका सबैभन्दा खुसी मानिसजस्ता देखिन्थे ।
ठीक ८ बजे जन्ती घरबाट बाहिर निस्क्यो । दुलहा हात्तीमा चढे औ हामीहरू पैदल हिँड्यौँ । मलाई दुलहा देख्नासाथ दुलहीको ध्यान आउन थाल्यो । दुलही पनि त्यस्तै ३५/४० की ढोकाबाट निस्की भने मेरो सारा उत्साह व्यर्थ हुनेछ । तर सानी १४ वर्षकी निस्की भने ? मैले यसो हात्तीमा चढेको दुलहा हेरेँ र नजिक हिँड्ने एउटा भद्रलाई सोधेँ -
“दुलहाको यो पहिलो बिहा हो ?”
उनले उत्तर दिए - “अहँ”
“पैलेकी दुलही नि ?”
“ऊ मरेर त यी अर्को बिहा गर्न हिँडेका । यिनको पैलेकी दुलहीबाट दुई वटा छोरा छन् । घरमा स्वास्नीमानिस नभएर घर नचल्ने, त्यसमा पनि छोराछोरीहरूलाई हेरिदिने कोई नहुँदा यिनले बिहा गर्नु परेको ।”
दुलहापट्टिबाट निश्चिन्त भै म दुलहीको कल्पना गर्न थालेँ । दुलहाको त घर चलाउन थियो र यी साना-साना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र बिहा गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन् ? ती निश्चय नै बढेकी होलिन् नत्र कसरी घर चलाउँछिन्, कसरी छोराछोरीलाई हेर्छिन् ? उनलाई पनि थाहा होला कस्तो घर छ र कस्ता केटाकेटी छन् । म दुलहीको विषयमा विश्चिन्त भएँ र दुलहीको घर पुग्ने बखतमा मलाई फेरि उत्साह आउन थाल्यो । नाचगानमा, उहाँको उत्साहमा म पनि खूब शामिल भएँ र दुलही निकाल्ने बखतमा हतपताई मण्डपमा आएँ । त्यहाँ पनि दुलहीलाई हेर्न आउने मानिस खचित थिए । गाउँका स्वास्नीमानिसले मण्डप घेरिएको थियो । तिनीहरू कस्ती दुलही कल्पना गरिरहेका होलान् ? २५/३० वर्षकी, घरको काम चलाउन निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलहाको सारा व्यवहारलाई थाम्ने दुलहीको कल्पना गरिरहेका होलान् ? म त यस्तै दुलहीको कल्पना गरिरहेको थिएँ तलदेखि माथिसम्म रातो लुगाले छापिएकी एउटी सानी बालिकालाई देखाउँदै ठेल्दै २/३ स्वास्नीमानिस मण्डपमा पुगे । यहाँ पनि मेरो कल्पनाले मलाई धोका दियो । म उहाँको उत्साह देखी विरक्त भएँ । मैले विचार गर्न सकिनँ । कसरी यी १४ वर्षकी कलिली बालिकाले दुलहाको घर थाम्लिन् र उनका छोराहरूको हेरविचार गर्न सक्लिन् । म यी बालिकाका विषयमा गम्न थालेँ , यिनी दुलहाको घरमा कसरी बस्लिन्, यिनको र दुलहाको कस्तो सम्बन्ध रहला ? अहिले यिनी के सोच्न थालेकी होलिन् ? इत्यादि । त्यसपछि मैले कुनै बिहामा जाने साहस गरिनँ । मलाई अब पनि बिहा गर्न रहर लाग्दैन ।
र जब मैले सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भनेको सुनेँ मलाई यस बिहाको स्मरण भयो । हरिमतिमाथि मलाई त्यसै दया आयो । हरिमति सुखी छन् कि दु:खी छन् मलाई थाहा छैन, तर मलाई त्यसै हरिमतिमाथि सहानुभूति हुन्छ । हरिमतिले दुलहा भनेको सुनेकै होली, बिहाको विषयमा उसका साथीहरूले उसलाई जिस्क्याउँदा उसलाई रहर नै लाग्यो होला । उसले पनि आफ्नो दुलहाको कल्पना गरेकी होली ! उसले कस्तो पतिको कल्पना गरेकी होली ? जवान ? कि कटकबहादुरजस्तै छिपिएको ? कि आफूजस्तै सानो केटो ? मीठो खान पाइएला, राम्रो लाउन पाइएला वा बाजागाजासाथ डोली चढी हिँड्न पाइएला भन्ने सुखको कल्पना गरेकी होली ?
बिहा गरेर घरमा आएपछि हरिमतिको कल्पना सत्य हुन्छ कि झूटो ? कटकबहादुर र हरिमति कस्ता कुरा गर्दा होलान् ?
कटकबहादुरले बिहा गरेको राति हरिमतिलाई सोधे होलान् - ‘मेरो रानी’- हरिमति झसङ्ग हुन्छिन् । धेरै दिनको कुरा होइन । एक दिन छिमेकका केटाकेटीसँग खेल्दा त्यो रानी बनेकी थी र एउटा केटा राजा । तर यत्रो ठुलो मान्छेले जस्तै खेलबाड गरेको देख्ता हरिमतिलाई राम्रो लागेन । छक्क परेकी हरिमतिलाई नजिकै टाँसेर कटकले सोधे - “मेरी रानी, मलाई माया गर्छ्यौ ?”
‘माया गर्छु’ भनिदिँदा उनी खुशी हुन्छन् भनेर “गर्छु” भनिन् ।
“म्वाइँ देऊ न त” कटकले आग्रह गरे ! यहाँ हरिमतिको आश्चर्यको सीमा रहेन र मेरो पनि । कटकबहादुरले के भनेर म्वाइँ खान खोजेको ? सानी केटी भनेर कि दुलही भनेर ?
बल्लबल्ल आफ्नो मुखलाई उसको मुखबाट सारी हरिमतिले भनिन्, “मलाई निद्रा लाग्यो, सुत्छु ।”
“यति चाँडै ?” प्रेमको यस्तो रूको उत्तर पाउँदा कटकलाई ग्लानि भयो, तर उनी भन्दै गए - “अरू कुरा गरौँ न, सुत्न त सधैँ सुतिहाल्छ्यौ नि ।”
हरिमति पहिले-पहिले नयाँ घरमा आएर डराई । निद्रा लाग्दा सुत्न नपाउँदा पनि केही बोलिन र उसको मुखतिर हेरिरही । कटकले गरेको कुरा उसले बुझिन, कुनै-कुनै बुझेको पनि कि ता एकदम व्यर्थ कि हाँसो उठ्तो जस्तो लाग्यो ।
कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भन्ने सुन्दा मलाई सब कल्पना किन हुन थाले ? सायद हरिमति र ऊसँग यस्तो केही कुरा भएन होला । उनले हरिमतिसँग प्रथम प्रश्न गरे होलान्- “नानी तिम्रो के नाउँ हो भन त ?”
यस्तो मीठो ढङ्गसँग सोधेको देख्ता नयाँ मानिससँग पनि नडराई हरिमतिले उत्तर दिइन् “हरिमति ।”
“तिमीले कति पढेकी छौ ?”
“कखरा सिद्धयाई भरखर साना-साना पुस्तक बाच्न थालेकी छु ।”
“अबदेखि मसँग पढे, जाऊ अब निद्रा लाग्यो होला, सुत ।”
हरिमतिलाई सुताई ओढाई उनी आफू घरको हिसाब मिलाउन लागे होलान् । बिहान भएपछि उसलाई उठाउँछन्, नुहाउन लाउँछन् र खाजा खाएपछि एकछिन पढ्न भन्छन् र बिराएको ठाउँमा आफैं सिकाउँछन् । खाइसकेपछि कितापहरू एउटा बासामा बाँधी सधैँको जस्तो हरिमति स्कूल जान्छिन् ।
तर म सोध्छु- त्यसो भए कटकबहादुरले किन बिहा गरे ? छोरी नभएर छोरीको रहर पुर्याउन ? त्यसो भए ल्याएकै दिन बढेकी कन्याको बिहा गरिदिनुपर्ने पीर तिनीलाई थपियो होला ।