Saturday, July 30, 2011

बिहा(विश्वेश्वरप्रसाद कोइराला)

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।
मैले एउटा बिहा देखेको छु, म जन्तीपट्टि थिएँ । हामीहरूलाई ४ बजेको निम्तो थियो, तर जन्ती ८ बजे भन्दा पहिले निस्केनन् । हामीहरू बाहिर बसी-बसी जन्ती निकाल्ने उद्योगमा थियौं तर दुलहाले नै अबेर लगाए । उनी सिँगार पारिरहेका छन् रे । विवाहको अवसरमा एक चोटि सिँगारिने मौका पाइन्छ भनी हामीहरू चुप्प लागी उनको प्रतीक्षा गरिरहेका थियौं । मैले दुलहालाई देखेको थिइनँ, कस्ता होलान् । गाउँका स्वास्नीमानिसहरू पनि आएर उभिरहेका थिए; तिनीहरू पनि दुलहालाई हेर्छन् रे । कस्ता होलान् ? दुलहा भन्नासाथ २०/२२ वर्षको युवकको कल्पना हुन थाल्दछ र ती ग्रामीण रमणीहरू पनि यस्तै दुलहाको कल्पना गरी हेर्न उभिरहेका होलान् । धेरै बेरपछि ढोकातिर खलबली भयो । “दुलहा आए दुलहा आए” भनेर सब उतातिर ओइरिन लागे, तर मैले चिन्न सकिनँ कुन चाहिने दुलहा हुन् । सब छिपिएका उमेरका मानिसहरू ढोकाबाट बाहिर निस्के । यसो ठम्याउन नसके पनि पहिरनले ती कालो कोट लाउने नै दुलहा हुन् भनिठानेँ । नभन्दै तिनी रहेछन् । आफ्नो खुशी र सुखलाई नदेखाऊँ भन्दाभन्दै पनि उनको आकृति चलाइ र बोलाइले नै तिनी दुनियाँका सबैभन्दा खुसी मानिसजस्ता देखिन्थे ।
ठीक ८ बजे जन्ती घरबाट बाहिर निस्क्यो । दुलहा हात्तीमा चढे औ हामीहरू पैदल हिँड्यौँ । मलाई दुलहा देख्नासाथ दुलहीको ध्यान आउन थाल्यो । दुलही पनि त्यस्तै ३५/४० की ढोकाबाट निस्की भने मेरो सारा उत्साह व्यर्थ हुनेछ । तर सानी १४ वर्षकी निस्की भने ? मैले यसो हात्तीमा चढेको दुलहा हेरेँ र नजिक हिँड्ने एउटा भद्रलाई सोधेँ -
“दुलहाको यो पहिलो बिहा हो ?”
उनले उत्तर दिए - “अहँ”
“पैलेकी दुलही नि ?”
“ऊ मरेर त यी अर्को बिहा गर्न हिँडेका । यिनको पैलेकी दुलहीबाट दुई वटा छोरा छन् । घरमा स्वास्नीमानिस नभएर घर नचल्ने, त्यसमा पनि छोराछोरीहरूलाई हेरिदिने कोई नहुँदा यिनले बिहा गर्नु परेको ।”
दुलहापट्टिबाट निश्चिन्त भै म दुलहीको कल्पना गर्न थालेँ । दुलहाको त घर चलाउन थियो र यी साना-साना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र बिहा गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन् ? ती निश्चय नै बढेकी होलिन् नत्र कसरी घर चलाउँछिन्, कसरी छोराछोरीलाई हेर्छिन् ? उनलाई पनि थाहा होला कस्तो घर छ र कस्ता केटाकेटी छन् । म दुलहीको विषयमा विश्चिन्त भएँ र दुलहीको घर पुग्ने बखतमा मलाई फेरि उत्साह आउन थाल्यो । नाचगानमा, उहाँको उत्साहमा म पनि खूब शामिल भएँ र दुलही निकाल्ने बखतमा हतपताई मण्डपमा आएँ । त्यहाँ पनि दुलहीलाई हेर्न आउने मानिस खचित थिए । गाउँका स्वास्नीमानिसले मण्डप घेरिएको थियो । तिनीहरू कस्ती दुलही कल्पना गरिरहेका होलान् ? २५/३० वर्षकी, घरको काम चलाउन निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलहाको सारा व्यवहारलाई थाम्ने दुलहीको कल्पना गरिरहेका होलान् ? म त यस्तै दुलहीको कल्पना गरिरहेको थिएँ तलदेखि माथिसम्म रातो लुगाले छापिएकी एउटी सानी बालिकालाई देखाउँदै ठेल्दै २/३ स्वास्नीमानिस मण्डपमा पुगे । यहाँ पनि मेरो कल्पनाले मलाई धोका दियो । म उहाँको उत्साह देखी विरक्त भएँ । मैले विचार गर्न सकिनँ । कसरी यी १४ वर्षकी कलिली बालिकाले दुलहाको घर थाम्लिन् र उनका छोराहरूको हेरविचार गर्न सक्लिन् । म यी बालिकाका विषयमा गम्न थालेँ , यिनी दुलहाको घरमा कसरी बस्लिन्, यिनको र दुलहाको कस्तो सम्बन्ध रहला ? अहिले यिनी के सोच्न थालेकी होलिन् ? इत्यादि । त्यसपछि मैले कुनै बिहामा जाने साहस गरिनँ । मलाई अब पनि बिहा गर्न रहर लाग्दैन ।
र जब मैले सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भनेको सुनेँ मलाई यस बिहाको स्मरण भयो । हरिमतिमाथि मलाई त्यसै दया आयो । हरिमति सुखी छन् कि दु:खी छन् मलाई थाहा छैन, तर मलाई त्यसै हरिमतिमाथि सहानुभूति हुन्छ । हरिमतिले दुलहा भनेको सुनेकै होली, बिहाको विषयमा उसका साथीहरूले उसलाई जिस्क्याउँदा उसलाई रहर नै लाग्यो होला । उसले पनि आफ्नो दुलहाको कल्पना गरेकी होली ! उसले कस्तो पतिको कल्पना गरेकी होली ? जवान ? कि कटकबहादुरजस्तै छिपिएको ? कि आफूजस्तै सानो केटो ? मीठो खान पाइएला, राम्रो लाउन पाइएला वा बाजागाजासाथ डोली चढी हिँड्न पाइएला भन्ने सुखको कल्पना गरेकी होली ?
बिहा गरेर घरमा आएपछि हरिमतिको कल्पना सत्य हुन्छ कि झूटो ? कटकबहादुर र हरिमति कस्ता कुरा गर्दा होलान् ?
कटकबहादुरले बिहा गरेको राति हरिमतिलाई सोधे होलान् - ‘मेरो रानी’- हरिमति झसङ्ग हुन्छिन् । धेरै दिनको कुरा होइन । एक दिन छिमेकका केटाकेटीसँग खेल्दा त्यो रानी बनेकी थी र एउटा केटा राजा । तर यत्रो ठुलो मान्छेले जस्तै खेलबाड गरेको देख्ता हरिमतिलाई राम्रो लागेन । छक्क परेकी हरिमतिलाई नजिकै टाँसेर कटकले सोधे - “मेरी रानी, मलाई माया गर्छ्यौ ?”
‘माया गर्छु’ भनिदिँदा उनी खुशी हुन्छन् भनेर “गर्छु” भनिन् ।
“म्वाइँ देऊ न त” कटकले आग्रह गरे ! यहाँ हरिमतिको आश्चर्यको सीमा रहेन र मेरो पनि । कटकबहादुरले के भनेर म्वाइँ खान खोजेको ? सानी केटी भनेर कि दुलही भनेर ?
बल्लबल्ल आफ्नो मुखलाई उसको मुखबाट सारी हरिमतिले भनिन्, “मलाई निद्रा लाग्यो, सुत्छु ।”
“यति चाँडै ?” प्रेमको यस्तो रूको उत्तर पाउँदा कटकलाई ग्लानि भयो, तर उनी भन्दै गए - “अरू कुरा गरौँ न, सुत्न त सधैँ सुतिहाल्छ्यौ नि ।”
हरिमति पहिले-पहिले नयाँ घरमा आएर डराई । निद्रा लाग्दा सुत्न नपाउँदा पनि केही बोलिन र उसको मुखतिर हेरिरही । कटकले गरेको कुरा उसले बुझिन, कुनै-कुनै बुझेको पनि कि ता एकदम व्यर्थ कि हाँसो उठ्तो जस्तो लाग्यो ।
कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर लिएर आए भन्ने सुन्दा मलाई सब कल्पना किन हुन थाले ? सायद हरिमति र ऊसँग यस्तो केही कुरा भएन होला । उनले हरिमतिसँग प्रथम प्रश्न गरे होलान्- “नानी तिम्रो के नाउँ हो भन त ?”
यस्तो मीठो ढङ्गसँग सोधेको देख्ता नयाँ मानिससँग पनि नडराई हरिमतिले उत्तर दिइन् “हरिमति ।”
“तिमीले कति पढेकी छौ ?”
“कखरा सिद्धयाई भरखर साना-साना पुस्तक बाच्न थालेकी छु ।”
“अबदेखि मसँग पढे, जाऊ अब निद्रा लाग्यो होला, सुत ।”
हरिमतिलाई सुताई ओढाई उनी आफू घरको हिसाब मिलाउन लागे होलान् । बिहान भएपछि उसलाई उठाउँछन्, नुहाउन लाउँछन् र खाजा खाएपछि एकछिन पढ्न भन्छन् र बिराएको ठाउँमा आफैं सिकाउँछन् । खाइसकेपछि कितापहरू एउटा बासामा बाँधी सधैँको जस्तो हरिमति स्कूल जान्छिन् ।
तर म सोध्छु- त्यसो भए कटकबहादुरले किन बिहा गरे ? छोरी नभएर छोरीको रहर पुर्याउन ? त्यसो भए ल्याएकै दिन बढेकी कन्याको बिहा गरिदिनुपर्ने पीर तिनीलाई थपियो होला ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home